मकवानपुरमा साथीको हत्या गरी भागेका युवालाई ललितपुरका गाउँलेले पक्रेर प्रहरीलाई बुझाए


२३ कार्तिक २०७७, आईतवार
bed005b38bcf4aa83eafc48a7c2295b7 w1000 h500 cp

मकवानपुर, २३ कार्तिक । मकवानपुरमा साथीको हत्या गरेर भागेका एक युवालाई ललितपुरका गाउँलेले पक्रेर प्रहरीलाई बुझाएका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारका २० वर्षीय विकास वाइवाको हत्या गरी भागेका उनी ललितपुरबाट पक्राउ परेका हुन् । कात्तिक २१ गते दिउँसो साढे ३ बजे साथीको हत्या गरेर भागेका २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई ललितपुरमा गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । हत्या आरोपी भोलनलाई प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो ।

सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा खुकुरीले हानेर शंकरले विकासको हत्या गरेको प्रहरीको भनाइ छ । शंकरले विकासलाई लखेटी–लखेटी खुकुरी प्रहार गरेको र पछि घाँटी छिनाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । साथीको हत्यापछि शंकर फरार थिए ।

मकवानपुर प्रहरीले जिल्लाभर व्यापक रुपमा प्रहरी परिचालन गर्दै जिल्लाका सीमा नाकाहरू समेत शील गर्दै भोलनको हुलिया र फोटो पठाएर खोजतलास व्यापक बनाएको थियो । शनिबार साँझ ५ बजे ललितपुरको बागमती गाउँपालिका २ माल्टाका स्थानीयले शंका लागि नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरीचौकी भट्टेडाँडा ललितपुरको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । भोलनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७