हुम्लामा अत्यधिक चिसो, पानीको धारामा जम्यो बरफ

जुम्लाको तापक्रम माइनस o.७ डिग्रीमा झर्‍यो


२४ कार्तिक २०७७, सोमबार
jado

हुम्ला, २४ कार्तिक । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए । यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।

दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको केसीले जानकारी दिए ।

चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मंसिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको उनले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ । मंसिर लागेसँगै हिल्सा, लिमीलगायतका उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् ।

हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा बढी हुने गर्दछ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

जुम्लाको तापक्रम माइनस ०.७ डिग्री
यस्तै देशभर दिन प्रतिदिन जाडो बढ्ने क्रम जारी छ । मौसमविद्का अनुसार सबैभन्दा चिसो अहिले जुम्लामा छ । त्यहाँ आइतबार न्यूनतम तापक्रम माइनस शून्य दशमलव ७ अर्थात् –०.७ डिग्री सेल्सियसमा झरेको छ ।

आजको अपडेट आउन बाँकी छ । यस्तै काठमाडौं उपत्यकाको अहिले बिहानको तापक्रम ९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिएकी छिन् ।

‘देशैभर तापक्रम घट्ने क्रम जारी छ,’ सोमबार बिहान उनले भनिन्, ‘अहिले त्यस्तो नयाँ सिस्टम (मौसमी प्रणाली) केही छैन । भोलि चाहिँ पश्चिमतिर पश्चिमी वायुको थोरै असर देखिने र एक–दुई स्थानमा हल्का पानी पर्ने पनि सम्भावना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७