फरार ‘तपश्वी’ बमजनको पुर्ख्याैली घरमा प्रहरीले टाँस्यो अदालतको ‘वारेन्ट’ सूचना


२६ कार्तिक २०७७, बुधबार
bomjan

काठमाडौं, २६ कार्तिक । प्रहरीको खोजी सूचीमा रहेका ‘तपश्वी’ रामबहादुर बमजनको पुर्ख्याैली घरमा प्रहरीले अदालत उपस्थित हुन भन्दै काटिएको सूचना टासेको छ ।

बारा निजगढ नगरपालिका–१२ रतनपुरीस्थित बमजनको पुर्ख्याैली घरमा मंगलबार प्रहरीले सूचना टाँस गरेको हो । वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा उनको स्थायी ठेगाना भएको घरमा सूचना टाँस गरिएको प्रहरीले जानकारी दिएको छ ।

आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप लागेका बमजनको खोजीका लागि प्रहरीको टोलीले सिन्धुली आश्रममा पटक–पटक छापा हाने पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

आफ्नै अनुयायी आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला अदातलमा बमजनविरुद्ध दुई वर्षअघि मुद्दा परेको थियो । सोही मुद्दाको आधारमा बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको हो ।

३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने सूचना बमजनको घरमा टाँसिएको इलाका प्रहरी कार्यालय जीतपुरका इन्स्पेक्टर विकास थपलियाले जानकारी दिएका छन् ।

रौतहटकी गंगामाया तामाङले आश्रममा बस्दा बमजनले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् । बलात्कारसहित बमजनमाथि अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ ।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बमजन प्रहरीको फरार सूचीमा छन् । सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बमजनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

‘लिटिल बुद्ध’ को नामले चर्चामा आएका ‘तपश्वी’ बमजन आनीमाथि बलात्कार र आफ्नै अनुयायीलाई हत्या हिंसा गरेको आरोप लाग्दै आएको छ । करिब १५ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा तपश्यामा बसेसँगै देश–विदेशमा चर्चित बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७