समृद्धिको चित्र, विकास विचित्र : चितवनको देवघाटमा सडकको बीचमै रूख राखेर कालोपत्रे


६ मंसिर २०७७, शनिबार
kalopatre

चितवन, ६ मंसिर । देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ ।

जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् । सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो । जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२ रुपैयाँमा ठेक्का पाएको थियो ।

अघिल्लो वर्षको बजेटमा अहिले मंसिरमा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ । सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन । यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् ।

धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । मुग्लिन–नारायणगढ सडकबाट पश्चिम–उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ । तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी सडक पिच गरिएको छ ।

सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक मर्मत गरिएको जनाएको छ । ‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन । त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन भरतपुरका प्रमुख कृष्ण अधिकारीले नयाँ पत्रिकासँग भने । अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ ।

उता चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल भने प्रक्रिया मिलाएर ल्याएमा वनले विकासमा अवरोध नगर्ने बताउँछन् । ‘वन पनि सरकारी कार्यालय हो, सरकारी कार्यालयले विकासमा अवरोध गर्दैन । तर, प्रक्रिया नपुगेसम्म अनुमति दिन मिल्दैन,’ उनले भने ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल सरकारी कार्यालयहरूबीच समन्वय नभएकाले समस्या आएको बताउँछन् । ‘भौतिक पूर्वाधार र वन मन्त्रालयबीच नै समन्वय छैन । ५० रूख यसरी बीच बाटोमा पर्छन् । तर, छलफलबाट यसलाई टुंगो लगाऔँ भन्दा हाम्रो तर्क कसैले सुन्दैन,’ उनले भने, ‘जनताबाट उठाइएको राजस्वको यसरी दुरुपयोग भएको छ ।’

न्यूनतम मापदण्ड पूरा नगरी बनाइएकाले सडकबाट दुर्घटना समेत बढी हुने डर बढेको छ । विगतमा समेत यस सडकमा रूखमा ठोक्किएर, हाँगा खसेर धेरै दुर्घटना भएका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७