देशभरिका भिटामिन ‘ए’ खुवाइँदै


११ मंसिर २०७७, बिहीबार
vitamin scaled

काठमाडौं, ११ मंसिर । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।

गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशँैका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताइन् । यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।

मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । करीब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।

एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । उनका अनुसार यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६–६७ देखि बालभिटा खुवाउन थालिएको हो ।

यस्तै आज र भोलि नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ । रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ । हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७