नेकपा विवादमा सके पानी हाल्नुस्, नसके घ्यू पनि नथप्नुस् : परराष्ट्रमन्त्री ज्ञवाली


१३ मंसिर २०७७, शनिबार
Pradeep Gyawali

गुल्मी, १३ मंसिर । परराष्ट्रमन्त्री एवम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवादमा सके पानी हाल्न र नसके घ्यू पनि नथप्न आग्रह गरेका छन् ।

नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र सामाजिक सञ्जालहरु नरङ्ग्याउन आग्रह गरे । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने उनले दावी पनि गरेका छन् ।

भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताउँदै उनले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ ।’ सुनकाण्ड, ललिता निवास, भ्याट छली काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले वर्तमान सरकारले कारबाही गरेको देखेर देशमा भ्रष्टाचारीहरु अताल्लिएको बताए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य, पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण विष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी विभाजन नहुने बताए । पार्टीमा देखिएको विवाद समाधान भएर पार्टी एक ढिक्का हुने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतले नेता बोम खड्काले देखेका सपना र बिकास निर्माणका बाँकी कामहरु पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७