विप्लव कार्यकर्ता खोज्न मिक्लाजुङ जंगलमा संयुक्त ‘सर्च अपरेसन’ जारी


२५ मंसिर २०७७, बिहीबार
crime

मोरङ, २५ मंसिर । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याका कारण गाउँमा त्रास बढेपछि स्थानीय प्रशासनले प्रहरी र सशस्त्र प्रहरीको ‘सर्च अपरेसन’ चलाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगरसहित जिल्ला प्रहरी कार्यालय, मोरङ र अपराधस्थल नजिकैका इलाका प्रहरी कार्यालयबाट टोली खटाएर सर्च अपरेशन जारी राखिएको हो ।
मिक्लाजुङ गाउँपालिका–१ मा रहेको बर्खे जंगलमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च अपरेसन’ जारी राखिएको हो । विप्लव समूहले स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोही जंगलमा हत्या गरेपछि उनीहरुको खोजी गर्न ‘सर्च अपरेसन’ जारी राखिएको हो ।

श्रेष्ठलाई सुराकीको आरोप लगाउँदै विप्लव समूहले अपरहण पछि मंगलबार हत्या गरेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ । श्रेष्ठको आज अन्त्योष्टी गर्ने तयारी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली मंगलबारबाटै ‘सर्च अपरेसन’ मा खटेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिएका छन् । उनले भने, ‘बर्खे जंगल भौगोलिक हिसाबले निकै विकट छ । हाम्रो ‘सर्च अपरेसन’ जारी छ । अहिलेसम्म कोही पक्राउ पर्न सकेको छैन ।’ मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सीमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो ।

शिक्षक श्रेष्ठकै हत्या भएको क्षेत्रबाट केही अघि प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो । सो क्षेत्र विप्लव समूहको गतिविधी बढी हुने क्षेत्र मानिन्छ ।

विकट क्षेत्र भएकाले उनीहरुले सो क्षेत्रमा आफ्ना विभिन्न गतिविधि अगाडि बढाएका छन् । शिक्षक श्रेष्ठको हत्यापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका थिए । तीन वटा सुरक्षा निकायको प्रमुख सहभागी बैठकले विप्लव समूह व्यक्ति हत्यातर्फ केन्द्रित भएको निष्कर्ष निकाल्दै समूहप्रति थप निर्मम बन्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७