ब्रिटिस र सिंगापुर भर्तीको अन्तिम प्रतिष्पर्धामा ७७० नेपाली युवा

ब्रिटिसमा ३४० र सिंगापुरमा १४० युवा लगिने


२६ मंसिर २०७७, शुक्रबार
army

काठमाडौं, २६ मंसिर । बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका लागि ७७० नेपाली युवालाई अन्तिम प्रतिष्पर्धामा बोलाएको छ ।

ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टकरआरआई–२०२१ का निम्ति बिहीबार (१० डिसेम्बर) नामावलीसहित बोलाएको हो । त्यसरी बोलाइएका युवाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका छन् ।

कोरोना महामारीका कारण गत वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये सीमित युवालाई मात्र मौका दिएको छ । यो वर्षको छनोट प्रक्रिया नियमित तालिकाभन्दा एक महिना पछाडि धकेलिएको छ । आगामी जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट हुनेछ । यसअघि जनवरीमै छनोट प्रक्रिया पूरा गरिन्थ्यो ।

अन्तिम छनोटका पोखरामा हुनेछ । त्यस निम्ति नेपालको पूर्वी भेगबाट र पश्चिम भेगबाट आधा–आधा संख्यामा प्रतिष्पर्धी छानिएका छन् । अन्तिम प्रतिष्पर्धामा सिंगापुर पुलिस फोर्सका निम्ति २१० जना बोलाइएका छन् । कोरोना भाइरसको स्वास्थ्य प्रोटोकल अपानाएर ३०–३० जनाको समूहमा स्पर्धा गराइने छ । तीमध्ये १४० जना छनोट हुनेछन् ।

gorkha 8 training fitness 866x487 1

ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५६० जनालाई प्रतिष्पर्धामा बोलाइएका छन् । जसमा पूर्व क्षेत्रका २८० र पश्चिम क्षेत्रका २८० जना छन् । उनीहरूलाई ३२ जनाको समूहमा प्रतिष्पर्धा गराइने जनाइएको छ । अन्तिममा ३४० जना छनोट हुने बताइएको छ । यो संख्या गत वर्षभन्दा कम हो । गत वर्ष ब्रिटिसमा ४३२ जना र सिंगापुरमा २२० भर्ती लिइएको थियो ।

ब्रिटिस आर्मी मुख्यालयले छनोट प्रक्रियाको माध्यम मेडिकल, एजुकेसनल र इन्टरभ्यु आरआई–२० को जस्तै हुने जनाएको छ । कोरोना भाइरस संक्रमण अवस्थाको आधारमा शारीरिक परीक्षाहरू निर्धारण हुने भनिएको छ । त्यस निम्ति छनोट प्रक्रियामा उच्च प्रदर्शन दिन शारीरिक तथा मानसिक तवरले तन्दुरुस्त रहन सुझाइएको छ ।

‘सेलेक्सन आउनु अगाडि तपाईंहरूलाई कोरोना भाइरस संक्रमणबाट जोगिनुहोस्,’ वेबसाइटमा भनिएको छ, ‘हामी तपाईंहरूको आगमनमा पीसीआर टेस्ट लिनेछौं । यदि तपाईंको टेस्ट पोजिटिभ आएमा अथवा तपाईंमा कोरोना भाइरसको लक्षण देखिएमा तपाईं गोर्खा भर्ती छनोट प्रक्रियाबाट स्वत बाहिरिनु हुनेछ ।’

काठमाडौंस्थित क्लास रूम एकेडेमीका प्रबन्ध निर्देशक विनोद राईले यो वर्षको छनोट प्रक्रिया छोटो र सहज तुल्याएको बताए । ‘यो पटक डोको क्यारी, जर्किन क्यारी, लिफ्ट एण्ड क्यारी कटौती गरिएका छन्,’ राईले भने, ‘छनोट प्रक्रियामा २ किलोमिटर दौड ८ मिनेट १० सेकेन्डमा पार गर्नु पर्नेछ । हेभिङ (ओभर आर्म) १२ पटक, मिट थाइपुल कम्तिमा ७६ किलो, ४ किलोको मेडिसिन बल थ्रो ३ दशमलव १० मिटर फाल्नु पर्नेछ ।’

त्यसैगरी एजुकेसनमा फ्री–राइटिङ ३० मिनेट, सुनाइ र बोलाइ १५ मिनेट हुनेछ । अन्तिममा अन्तर्वार्ता लिइने छ । मेडिकल टेस्ट गत वर्षकै कायम गरिएको जनाइएको छ । भर्ती हुन सफल युवाले विगतका वर्षझैं पारिवारिक भेटघाट गर्न पाउने छैनन् । टेलिफोन र भिडियो कलमार्फत् कुराकानी गर्न पाउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७