मेस्सीको दुई गोलमा बार्सिलोनाको अपराजित यात्रा कायमै, रोकियो रियल


२६ पुष २०७७, आईतवार
lionel messi antoine griezmann barcelona granada

काठमाडौं, २६ पुस । बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्‍याउँदै ग्रानाडामाथि सहज जीत हात पारेको छ । कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रनाडामाथि ४–० को सहज जीत हासिल गरेको हो ।

खेलको १२ औं मिनेटमा ग्रिजमानले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३५ औं र ४२ औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता फराकिलो बनाए । दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ । उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

दोस्रो हाफमा ग्रिजमानले अर्को गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे । ग्रानाडाका जिसुस भालेहोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित बनेको थियो । यता साबिक विजेता रियल म्याड्रिडले भने ओसासुनासँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ११ खेलमा जितविहीन ओसासुना रेलिगेसन क्षेत्रमा रहेको छ ।

हिमपातका वावजुद खेलाइएको खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेनन् । खेल अवधि भर दुवै टोलीले विपक्षीको पोष्टमा मात्र तीन वटा प्रहार लक्ष्यमा गर्न सके । रियलका म्यानेजर जिनेदिन जिदानले खराब मौसमका बावजुद खेल खेलाइएकोमा आक्रोश व्यक्त गरेका छन् ।

यसअघि हिमपातका कारण एथ्लेटिको म्याड्रिड र एथ्लेटिक बिल्बाओको खेल भने रद्द भएको थियो । रियल रोकिएपछि कुनै खेल नखेले पनि एथ्लेटिको शीर्ष स्थानमा कायम रहेको छ ।

१५ खेलबाट एथ्लेटिकोको ३८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियलको १८ खेलपछि ३७ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ अंक रहेको छ । अन्य खेलमा सेभियाले रियल सोसिडाडलाई ३–२ गोल अन्तरले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७