सम्पत्ति हत्याउन राजेन्दरको काका र भाइले नै गरे हत्या, दुई ‘सुटर’ लाई २५ लाख दिने शर्त

हत्यामा संलग्न आठमध्ये ६ जना पक्राउ


१४ माघ २०७७, बुधबार
6 arrested in murder charge

बुटवल, १४ माघ । रुपन्देहीको मायादेवी गाउँपालिकामा एकहप्ता अघि भएको ३४ वर्षीय युवकको हत्यामा आफ्नै काका र उनका छोराहरुले गरेको खुलासा भएको छ । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्दर यादवको जलाएर हत्या भएको थियो । उनको हत्या आफ्नै काकाका छोराहरु (दाजु र भाइ) ले गराएको पुष्टि भएको हो ।

घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी आज (बुधबार) सार्वजनिक गरेको छ । यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्तकुमार यादव तथा सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान छन् । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भनिने इन्द्रजित यादव र सोनु मुराउ फरार छन् ।

मृतकका काकाले भतिज राजेन्दरको हत्या गराउने मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएका छन् । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।

राजेन्दरलाई स्थानीय भट्टी पसलमा मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाई बेहोस बनाएपछि पाइपले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि राजेन्दरको मृत शरीरलाई घटनास्थलबाट घिसारेर केही तल पुर्‍याई पेट्रोल छर्केर आगो लगाइएको थियो ।

हत्यामा संलग्न सोनु मुराउले मृतकले लगाएको घडी र मोबाइल लगेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान भएको थियो ।

राजेन्दर दुई वर्षको हुँदा उनका बुबा रामसुभगको मृत्यु भएको थियो । बुबाको मृत्युपछि राजेन्दरकी आमाले उनको काका अर्थात आफ्नै देवर रामवेलाशसँग विवाह गरेकी थिइन् । आमाले काकासँग विवाह गरेपछि उनबाट तीन छोराको जन्म भएको थियो । त्यसपछि पारिवारिक माया नपाएका राजेन्दर १५–१६ वर्षकै उमेरमै भारत गएका थिए ।

भारतमा १४ वर्ष बसेपछि एक वर्षअघि मात्रै घर आएका राजेन्दरले काकासँग अंश मागे । काकाले अंश नदिएपछि उनले रुपन्देही जिल्ला अदालतमा मुद्दा हाले र अदालतले मिलापत्र गराएको थियो । मिलापत्रपछि राजेन्दरको नाममा साढे १४ कठ्ठा जमिन परेको थियो ।

‘त्यही जमिन हडप्नका लागि उनका काकाले योजना बनाएर राजेन्दरको हत्या गरेको पाइयो’, एसपी पोखरेलले भने, ‘त्यसका लागि काकाले २ सुटर खोजेर हत्यापछि उनीहरुलाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा उनीहरुकै सहयोगमा हत्या गरिएको अनुसन्धानमा पुष्टि भयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७