पदको दुरुपयोग धेरै देखियो, सरकारले करेक्सन गर्ने बेला आयो : अध्यक्ष प्रधानाङ्ग


१६ माघ २०७७, शुक्रबार
padhmini.jpg .2021 01 29

काठमाडौं, १६ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलले पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको रिपोर्ट सार्वजनिक गरेको छ । सुशासनमा ५० भन्दा कम अंक ल्याउने देशलाई भ्रष्टाचारग्रस्त भनिन्छ, नेपालले ३३ अंक मात्रै ल्याएको छ ।

अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो । सन् २०२० को भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई) सार्वजनिक गर्दै ट्रान्सपरेन्सीले सुशासनमा नेपाल ११३ बाट ११७ औं स्थानमा खस्किएको उल्लेख गरेको छ ।

भ्रष्टाचार नियन्त्रणको प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु र व्यवसायमा घुसखोरी कायमै हुनुले पनि नेपाल झन् पछि परेको प्रतिवेदनमा उल्लेख छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि पदको दुरुपयोग गरेकाले नेपालको स्थान खस्किएको हो ।

विश्वका विभिन्न ६ वटा संस्थाले ६ वटा फरक–फरक विधामा गरेको सर्वेक्षणलाई आधार मानेर ट्रान्सपरेन्सी इन्टरनेसनलले यस्तो रिपोर्ट बनाउने हो । ६ वटा विधामध्ये पाँचवटाको रिपोर्ट उस्तै छ । सार्वजनिक पदको दुरुपयोग भने बढेको देखिन्छ । यो वर्ष वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग गरेका विषयमा अध्ययन गरेको थियो ।

उसको अध्ययनअनुसार सार्वजनिक पदको दुरुपयोग एकदमै बढेको देखियो, जुन डरलाग्दो विषय हो । यसमा आफन्तलाई नियुक्तिदेखि कारबाहीबाट जोगाउनेसम्मका गतिविधि पर्दछन् । समग्रमा नेपालले एक सयमा ३३ अंक ल्याएको छ । गत वर्ष ३४ अंक ल्याएको थियो । यसले नेपालमा भ्रष्टाचार बढेको देखाउँछ ।

५० भन्दा कम अंक ल्याउने देशहरूलाई भ्रष्टाचारग्रस्त देश भनिएको छ । एक सय ८० देशमध्येमा औसतमा ४३ अंक छ । नेपाल औसतभन्दा पनि धेरै तल देखियो । यसमा सरकारले सोचेर करेक्सन गर्नैपर्छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७