काठमाडौंमा बर्डफ्लु देखियो, २५ सय पक्षी नष्ट


१८ माघ २०७७, आईतवार
bird flue

काठमाडौं, १८ माघ । काठमाडौंको तारकेश्वर नगरपालिका ७, साङ्लेखोला, फुटुङमा पालिएका पक्षीमा बर्डफ्लु रोग भेटिएको छ । बर्डफ्लु रोग पुष्टि भएपछि त्यस क्षेत्रमा किसानहरूले पालेका २५ सय ४४ वटा पक्षी नष्ट गरिएका छन् ।

पशुसेवा विभागका अनुसार फुटुङ क्षेत्रमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि भएको हो । लगत्तै शनिबार सो क्षेत्रमा पशु चिकित्सक तथा प्राविधिक पुगेर एक हजार आठ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा र २५ टर्की नष्ट गरिएको विभागले जनाएको छ । त्यस्तै, पाँच सय ४२ वटा अन्डा र ७५ केजी दानासमेत नष्ट गरी सो क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएको विभागले जनाएको छ ।

पाँच वर्षअघि ठूलो मात्रामा ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिँदा कुखुरापालन क्षेत्र नै धराशयी भएको थियो । यस पटक ब्रोइलरमा नदेखिए पनि अन्य पक्षीमा देखिएपछि उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

विभागले एक विज्ञप्ति जारी गर्दै पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार–पसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन आग्रह गरेको छ । फर्मको वरिपरि निसंक्रमण गर्न र व्यक्तिगत सफाइमा ध्यान दिन पनि सुझाब दिएको थियो । एक महिनाअघि भारतमा बर्डफ्लु देखिएपछि सरकारले भारतबाट कुनै पनि पक्षीजन्य पदार्थ ओसार–पसारमा रोक लगाएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७