नेकपाको आमहड्तालमा विहानैदेखि प्रहरीको धरपकड, काठमाडौंबाट ४० जना नियन्त्रण


२२ माघ २०७७, बिहीबार
Kathmandu Roads 2 scaled

काठमाडौं, २२ माघ । प्रतिनिभिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक रुपमा गरिएको पदाधिकारी नियुक्तिको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) गरेको आमहड्तालप्रति प्रहरीले कडा रुपमा प्रस्तुत भएको छ ।

नेकपाको देशव्यापी आमहड्तालका दिन प्रहरी विहानैदेखि धरपकडमा उत्रिएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका काठमाडौं सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट चार जना पक्राउ परेका छन् । अहिलेसम्म काठमाडौंका विभिन्न सडक क्षेत्रमा बन्द आह्वान गर्दै हिडेका ४० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

नेकपाका युवा नेता दीपशिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । बिहीबार बिहानैदेखि बन्द गर्न हिंडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

यता, बिहीबार बिहानै गोंगबुमा एउटा ट्याक्सीमाथि अज्ञात व्यक्तिबाट आगजनी भएको छ । दुई अज्ञात व्यक्तिहरुले ट्याक्सीमाथि आगजनी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुने छैन । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।

गृह मन्त्रालयले भन्यो : निर्धक्क व्यवसाय सञ्चालक गर्नू
गृह मन्त्रालयले बिहीबार निर्धक्क भएर आफ्नो पेशा व्यवसाय गर्न आम नागरिकलाई आग्रह गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरे लगत्तै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

griha

मन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रूपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएको छ । मन्त्रालयले यातायात व्यवसायीलगायत सबै व्यवसायीलाई निर्धक्क आ–आफ्नो उद्योग धन्दा पेशा व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा आम नागरिकबाट प्रचलित कानुनको पालना गरी शान्ति सुव्यवस्था कायम गराउने कार्यमा सदाझै निरन्तर सहयोगको लागि समेत अपील गरिएको छ ।

‘नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) को नामबाट विविध विषय उठाई बिहीबार देशव्यापी आमहडताल आह्वान गरिएको भनी सार्वजनिक भएको प्रेस वक्तव्य उपर गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ’, नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।’

मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७