६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन

सबैभन्दा धेरै खर्च लुम्बिनीको, थोरै खर्च कर्णालीको, ठूलो बजेट ल्याएर कम खर्च गर्नेमा बागमती


२९ माघ २०७७, बिहीबार
aartha mantralaya

काठमाडौं, २९ माघ । आर्थिक वर्षको आधा अवधि सकिँदा प्रदेशको औसत खर्च १५ प्रतिशत पनि पुग्न सकेको छैन । पुस मसान्तसम्ममा प्रदेशहरूको कुल खर्च ३९ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो विनियोजित कुल बजेट २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको १४.८६ प्रतिशत मात्रै हो ।

चालू आवको ६ महिनासम्ममा प्रदेशहरूले विनियोजित चालू बजेट १ खर्ब २३ अर्ब ७१ करोडको १५.८२ प्रतिशत खर्च गर्न सकेका छन् । त्यस्तै, प्रदेशहरूले विनियोजित कुल पुँजीगत बजेट १ खर्ब ३९ अर्ब ४९ करोडको १४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । यो अवधिमा सबैभन्दा बढी खर्च लुम्बिनी प्रदेशले २२.८ प्रतिशत गरेको छ भने सबैभन्दा कम खर्च कर्णाली प्रदेशले ८.३९ प्रतिशत मात्रै गर्न सकेको छ ।

संघीय सरकारको जस्तै प्रदेशहरूले समेत खर्च गर्ने क्षमता बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ६ महिनामा संघीय सरकारको कुल खर्च २८.१९ प्रतिशत पुगेको छ । तर, प्रदेशको खर्च भने संघको १३.३३ बिन्दु प्रतिशतले कमी हो ।

‘खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आएन’
संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमतामा अपेक्षित सुधार नै आउन नसकेको औँल्याएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटका अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले सुधारका प्रयास हुँदाहुँदै पनि तीनै तहका सरकारको आयोजना कार्यान्वयन र खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आउन नसकेको औँल्याएको हो ।

प्रदेश एकको खर्च औसतभन्दा बढी
प्रदेश १ ले चालू आवमा प्रदेशहरूमध्येको दोस्रो ठूलो बजेट ल्याएको थियो । तर, खर्च भने तुलनात्मक रूपमा औसत मात्रै भएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ ले कुल विनियोजित बजेटको १८.६८ प्रतिशत खर्च गर्न सकेको छ ।

चालू आवमा प्रदेश १ को कुल बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश १ ले विनियोजित चालू बजेट १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको १४.७१ प्रतिशत खर्च गरेको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित २१ अर्ब ९२ करोड ५० लाख रुपैयाँको २२.१४ प्रतिशत खर्च भएको छ ।

प्रदेश २ को खर्च औसतभन्दा थोरै
प्रदेश २ को खर्च निराशाजनक देखिन्छ । यस प्रदेशले समीक्षा अवधिमा कुल विनियोजित बजेट ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँको ९.५८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यसमध्ये चालूतर्फ विनियोजित १५ अर्ब ४२ करोड २७ लाखमध्ये १ अर्ब ५९ करोड ५६ लाख खर्च भएको छ ।
त्यस्तै, पुँजीगततर्फ विनियोजित १७ अर्ब ९७ करोड ८३ लाखमध्ये १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश २ ले विनियोजित बजेटमध्ये ६ महिनामा चालूतर्फ १०.३५ प्रतिशत र पुँजीगततर्फ ९.०१ प्रतिशत खर्च गर्न सकेको हो ।

बागमती प्रदेश बजेट ठूलो खर्च थोरै
चालू आर्थिक वर्षमा सवैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमतीको खर्च भने धेरै हुन सकेको छैन । बागमती प्रदेशले चालू आवका लागि कुल ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

जसमा चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस ६ महिनाको अवधिसम्म बागमती सरकारले विनियोजित बजेटको १५.०३ प्रतिशत खर्च गरेको छ । त्यस्तै, चालूतर्फ विनियोजित बजेटको १७.०२ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेटको १३.४८ प्रतिशत खर्च गरेको छ ।

गण्डकीको खर्च औसतकै हाराहारी
गण्डकी प्रदेशले ६ महिनामा कुल ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको १५.१३ प्रतिशत हो । चालू आवका लागि गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । समीक्षा अवधिमा गण्डकीले १ अर्ब ९६ करोड ११ लाख रुपैयाँ चालू र ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो विनियोजित चालू बजेट १४ अर्ब ३४ करोड २७ लाखको १३.६७ प्रतिशत र पुँजीगत बजेट १९ अर्ब ९९ करोड ९५ लाखको १६.५५ प्रतिशत हो ।

लुम्बिनी सबैभन्दा धेरै खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षमा प्रदेश ५ को कुल बजेट ३६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ हो । पुस मसान्तसम्ममा यस प्रदेशले विनियोजित कुल बजेटको २२.८० प्रतिशत खर्च गर्न सकेको छ । त्यस्तै, चालूतर्फ ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ ।

यो खर्च विनियोजित १७ अर्ब ७३ करोड २५ लाख चालू बजेटको २६.७७ प्रतिशत हो । त्यस्तै, यस अवधिमा प्रदेश पाँचले ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । यो विनियोजित पुँजीगत बजेट १८ अर्ब ६२ करोडको १९.०२ प्रतिशत हो ।

कर्णाली सबैभन्दा कम खर्च गर्ने प्रदेश
चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशले कुल ३३ अर्ब ७४ करोड १४ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

कर्णाली सरकारले पुस मसान्तसम्ममा कुल बजेटको ८.३९ प्रतिशत खर्च गरको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशले चालूतर्फ १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालूतर्फ ११.६६ प्रतिशत तथा पुँजीगतर्फ ५.८७ प्रतिशत खर्च गर्न सकेको हो ।

सुदूरपश्चिमको खर्च औसत सरह
सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा कुल विनियोजित बजेट ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको १२.८२ प्रतिशत खर्च गर्न सकेको छ । समीक्षा अवधिमा सुदूरपश्चिमले चालूतर्फ १६ अर्ब ३२ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ करोड विनियोजन गरेको थियो । जसमध्ये हालसम्म चालूतर्फ १४.०५ प्रतिशत अर्थात् २ अर्ब २९ करोड २६ लाख र पुँजीगत ११.८५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७