भारतसँग किनिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो


९ फाल्गुन २०७७, आईतवार
korona khop 3

काठमाडौं, ९ फागुन । भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । एअर इण्डियाको विमानमार्फत आज (आइतबार) दिउँसो २ बजे खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवत्ता डा. समीर अधिकारीले जानकारी दिए ।

खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतवार १० लाख ‘कोभिशिल्ड’ डोज खोप नेपाल आइपुगेको हो । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने मन्त्रालयका सहप्रवक्ता अधिकारीको भनाइ छ ।

काठमाडौं आइपुगेको १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ । गएको बुधबार नेपालले सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल ल्याइएको हो ।

यसअघि भारत सरकारले नेपाललाई अनुदान स्वरूप कोभिशिल्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो । त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भइसकेको छ । सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने जनाएको छ ।
अहिले भारतबाट ल्याइएको खोप पनि पहिलाको जस्तै सुरक्षित भएकाले ढुक्क भएर लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७