पूर्व प्रधानमन्त्री भट्टराईको आजबाट उपचार शुरु हुँदै


१० फाल्गुन २०७७, सोमबार
baburam bhattarai

काठमाडौं, १० फागुन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपचार आज (सोमबार) बाट शुरु हुने भएको छ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराई हिजो भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् ।

भट्टराई आइतबार श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डेका साथ दिल्ली पुगेका हुन् । उनीहरू दिल्लीस्थित नेपाली दूतावासमा बसेका छन् । भट्टराईको सोमबारदेखि दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार पाण्डेले जानकारी दिएका छन् । सोमबार दिउँसो १ः ३० बजे वरिष्ठ चिकित्सक विक्रम भाटियाले भट्टराईको परीक्षण गर्नेछन् ।

भट्टराईले ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारकै क्रममा न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएको थियो । नेपालमा त्यो ट्युमर घातक भए–नभएको नखुलेपछि निदानका डा. नीरज जोशीले नै भट्टराईलाई चाँडै दिल्ली जान सुझाएको पाण्डेले बताए ।

यसैबीच भट्टराईले उपचारका लागि दिल्लीमा आउनुपरेकामा आफू लज्जित र दुःखित रहेको बताएका छन् । ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा आफू लज्जित र दुःखित भएछु, २१ औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’ उनले ट्वीट गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७