प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच पहिलोपल्ट भेटवार्ता


१४ फाल्गुन २०७७, शुक्रबार
kp oli bidhya
फाइल् फोटो

काठमाडौं, १४ फागुन । प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ । भेटका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनीहरूबीच अब के कसरी संसद् बैठक सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी थिइन् । त्यसविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले विघटन बदर गर्दै संसद् पुनर्स्थापना गरेको हो । त्यसयता प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भएको यो नै पहिलो भेटवार्ता हो ।

सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।

संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७