कागती खेतीमा युवा सक्रिय, बर्षौदेखिको बाँझो जग्गा हरियाली


१९ फाल्गुन २०७७, बुधबार
kagati

दाङ, १९ फागुन । दाङको तुलसीपुर उपमहानगरपालि–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षदेखि हरियाली बनेको छ । उक्त जग्गामा लटरम्म फलेका कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यही कागती अवलोकन गर्नेहरुको उत्तिकै भीड पनि ।

तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय बनेको छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रु तीन हजार कट्ठा र तुलसीपुरमा रु दुई हजार ५०० मा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन् । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण ती युवाहरुलाई हेर्न सकिन्छ ।

उनीहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गर्नुभएका उहाँहरुले वार्षिक रु १५–२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् ।

कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उनले बताए । उनका अनुसार शुरुमा आफूहरुले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब एक करोड लगानी भइसकेको छ । अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । जुन कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए । ‘कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्‍याउन भ्याइनभ्याई छ’, उनले भने, ‘बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।’

दाङका दुई स्थानमा आफूहरुले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशैभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए । ‘अहिले हामी दुईजना छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं’, उनले भने, ‘त्यसका लागि १०८ जना किसान थप गर्ने हाम्रो योजना छ ।’ उनका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्‍याउने योजना छ ।

कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ । आफूहरुले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७