नयाँ समीकरणको प्रयास : अग्रसरता लिन कांग्रेसलाई जसपाको प्रस्ताव

संसद् धेरै नचलाउने प्रधानमन्त्रीको सर्तपछि जसपा झस्कियो, ओलीको विकल्प खोज्न तयार


२९ फाल्गुन २०७७, शनिबार
bishwo prakash sharma
फाइल फोटो

काठमाडौं, २९ फागुन । नयाँ सत्तासमीकरणका लागि निर्णायक भूमिकामा रहेको संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक निकासका लागि अग्रसरता लिन सुझाब दिएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार जसपाका नेतासँग छलफल गर्दै उनीहरूका चासो सम्बोधनमा सकारात्मक रहेको बताएको अर्को दिन जसपाले कांग्रेससँग संवाद गरेको हो ।

कांग्रेससँग औपचारिक छलफलका लागि शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पुगेका जसपाका शीर्ष नेताहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले भूमिका निभाउनुपर्ने मत राखेका थिए । छलफल सकारात्मक भएको र निरन्तरता दिने सहमति भएको कांग्रेस र जसपाका नेताहरूले बताएका छन् ।

‘करिब एक घण्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेट पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पुर्‍याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नु भएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नु भएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नु भएको चाहिँ हो ।’

बैठकबाट बाहिरिने क्रममा जसपाका अध्यक्ष महन्थ ठाकुरले वर्तमान संकट टार्न अहिलेको अवस्थामा मिलेर जाने भन्ने विषयमा छलफल भएको बताए । ‘हामीले हाम्रा एजेन्डा राख्यौँ । हाम्रा साथी जेलमा छन्, उनीहरूको रिहाइ गर्नुपर्नेछ, झुटा मुद्दाहरूको फिर्ता र सफाइको विषय छ । नागरिकताको समस्या समाधान हुनुपर्छ, हामीले त्यो भन्यौँ । मिलेर जाऔँ भन्ने हो, तर त्यस्तो कुनै सहमति भएको छैन,’ अध्यक्ष ठाकुरले भने, ‘बृहत् छलफलको आवश्यकता छ, हामी माओवादीसँग पनि छलफल गर्छौँ, त्यसपछि एउटा निष्कर्षको कुरा हुन्छ ।’

जसपाको नेतृत्वमा छलफल चलाउने विषयमा छलफल भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा ठाकुरले भने, ‘तपाईंको मुखबाट सुनें । यो त खुसीको कुरा हो ।’ तर, अबको प्रधानमन्त्रीमा त तपाईंको नाम चर्चामा छ नि भन्ने अर्को प्रश्नमा ठाकुरले भने, ‘यस्तो राम्रो खबरका लागि तपाईंलाई धन्यवाद । यो त मेरा लागि खुसीको सरप्राइज नै भयो ।’

प्रवक्ता शर्माले समसामयिक राजनीतिक संकटका विषयमा छलफलको सुरुवात भएको बताए । ‘आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ,’ शर्माले भने ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए । जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७