कुशल र आसिफको उत्कृष्ट ओपनिङमा नेपालको सानदार जित


६ बैशाख २०७८, सोमबार
asif sekha kusal bhurtel and dipendra singh airee

काठमाडौं, ६ बैशाख । ओपनर कुशल भुर्तेल र आसिफ शेखको लगातार उत्कृष्ट ओपनिङ ब्याटिङमा नेपालल मलेसियामाथि ९ विकेटको सानदार जित हात पारेको छ ।

त्रिकोणात्मक टि–२० आई सिरिजको दोस्रो खेलमा पहिलो विकेटका लागि कुशल र आसिफले ११.१ओभरमा १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले मलेसिया माथि सानदार जित हात पारेको हो । उनीहरुको यो लगातार दोस्रो खेलमा शतकीय साझेदारी गरेका हुन् ।
जितको लागि १ सय १० रनको विजयी लक्ष्य पाएको नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका ओपनर कुशल भुर्तेल ४१ बलमा ३ चौका र ५ छक्का सहित ६१ रनमा अविजित रहे । आसिफ शेख २९ बलमा ४ चौका र १ छक्का सहित ४२ रनमा क्याच आउट भए । विजयी चौका प्रहार गरेका दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनमा बनाए ।

कुशलले नेदरल्यान्डविरुद्ध पनि ६२ रनमा बनाएका थिए । भने आसिफ ५४ रनमा अविजित रहेका थिए । यी दुई ओपनरले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेटका लागि १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । कुशल भुर्तेल नेपालबाट टि–२० आईमा लगातार दोस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले २६ बलमा अर्धशतक प्रहार गरे । पहिलो खेलमा कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।
मलेसियाका विरानदीप सिंहले आसिफको विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको मलेसिया १६ दशमलव ५ ओभरमा १ सय ९ रन जोड्दा अलआउट भयो। नेपालका लागि करण केसी चम्किएपछि मलेसियाविरुद्दको खेलमा १ सय १० रनको मध्यम लक्ष्य पाएको थियो।
मलेसिया ओपनर सायद अजिजले २४ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक २७ रनको योगदान दिए । मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। सर्भिन मुनियनडेले २० र साफिक सारिफले १५ रन बनाए ।

करण केसीको दोस्रो ओभरको चौथो बलमा ओपनर अनवार अरुद्दीन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट ८ रनमा क्याच आउट हुन पुगेका थिए । ओपनर अनवार र सायद अजिजले पहिलो विकेटका लागि १७ रनको साझेदारी गरेका थिए । त्यसपछि मलेसियाले लगातार विकेट गुमाउन पुग्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालले पाँचौ ओभरसम्म ४ विकेट लिइसकेको थियो। कसिलो बलिङ गरेका नेपालका बलरहरुले मलेसियाका ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन् ।

करण केसी एक्लैले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, कुशल मल्ल, साहब आलम र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । ऐरीले टि–२० आइमा पहिलो विकेट लिएका हुन् । यसअघि उनले एक दिवसीय खेलमा २ विकेट झारेका छन् ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपाल ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा २ अंकका साथ दोस्रो र मलेसिया पुछारमा छ । नेपालले आफ्नो तेस्रो खेल मंगलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७