विपक्षी गठबन्धनको के छ तयारी ?


३० बैशाख २०७८, बिहीबार

काठमाडौं, ३० बैसाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ । बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी दललाई बहुमत जुटाउन हम्मेहम्मे देखिएको छ ।

त्यसका लागि एमालेको असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई राजीनामा गराउन विपक्षी गठबन्धन लागिपरेको छ। एमालेका असन्तुष्ट पक्षको राजीनामा वा समग्र जनता समाजवादी पार्टी एकढिक्का नभएसम्म विपक्षी गठबन्धनको बहुमत पुग्दैन ।

हालको संसदको विद्यमान अवस्थामा विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन कम्तीमा पनि थप १२ सांसदको आवश्यकता पर्छ । कांग्रेससँग ६१ र माओवादी केन्द्रसँग ४८ सांसद छन् । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा १५ वा १६ जना छन् । यसरी हेर्दा विपक्षी गठबन्धनसँग १२५ को हाराहारीमा मात्रै सांसद हुन्छन् । बहुमतका लागि १ सय ३६ आवश्यकता पर्छ ।

एमालेको नेपाल पक्षका प्रत्यक्षतर्फका १९ जनाले राजीनामा दिँदा प्रतिनिधिसभामा सांसद संख्या २५२ हुन्छ । बहुमतका लागि १२७ आवश्यक हुन्छ । नेपाल पक्षका १९ जनाले राजीनामा दिँदा पनि बहुमत जुटाउन सकस नै छ । एमाले वरिष्ठ नेता नेपाल, नेता भीम रावललगायत नेता प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएकै दिन राजीनामा दिनुपर्ने पक्षमा थिए । उनीहरूले राजीनामाको तयारी नै गरेका थिए । तर, दोस्रो तहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले असहमति जनाएपछि बैठकमा अनुपस्थित भएको जनाइएको थियो ।

तर, प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएर राष्ट्रपतिले संयुक्त सरकार बनाउन दिएको समयसीमा सकिन लागे पनि राजीनामालाई लिएर नेपाल पक्ष एकमत हुन सकेको छैन । नेपाल र रावलले सरकार गठनको तयारी गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई राजीनामा दिने प्रतिबद्धता पनि गराइसकेका छन् । रावललगायत नेता सांसद पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन् । उनले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न सांसद पदबाट राजीनामा दिनुपर्ने लेखेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रम केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानुनी दृष्टिले धेरै उचित छ ।’

नेता घनश्याम भुसालले फेरि प्रतिनिधिसभा विघटन गर्ने खेल भइरहेको बताएका छन् । निर्वाचनका नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरूसँग बदला लिन लागिएको भुसालको भनाइ छ । उनले फेसबुकमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।’

उनले झलनाथ खनाल र माधवकुमार नेपाललाई गाली गरेर एमाले विभाजन गरिन लागेको तर्क गरेका छन् । उनले लेखेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदै छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७