मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो


३१ बैशाख २०७८, शुक्रबार
mistrikhola

म्याग्दी, ३१ बैसाख । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादन विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको मिस्ट्रीखोला आयोजनाबाट उत्पादित विद्युत बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेको आयोजनाले दाना सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा बिजुली पठाएको छ ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २ सय २० केभी क्षमताको सवस्टेसन जोड्ने १ सय ३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइनको केही दिनअघि गरिएको परीक्षण सफल भएको थियो ।

अयोजनाका अनुसार परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने छ । आयोजनाका अनुसार यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन सुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत् कर्मचारी तथा कामदारमा कोरोना सङ्क्रमण भएपछि करिब डेढ महिना पछाडि धकेलिएको हो ।
२०७३ जेठ ३१ गतेदेखि निर्माणकार्य सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ ।

२ हजार २७०.५ मिटर लामो सुरुङबाट ल्याएको पानी २ सय ५० मिटर उचाइबाट खसाली विद्युत् उत्पादन गर्न १ हजार ५ सय मिटर पेनस्टक पाइप जडान गरिएको छ । बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत गृह नजिकै स्विच यार्ड निर्माण गरिएको छ । बाँध क्षेत्रमा १ सय १५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी बनाइएको छ । ५ अरब ६४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७