घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य


२४ जेष्ठ २०७८, सोमबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, २४ जेठ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।

निगम सञ्चालक समितिको बैठकले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

आइतवारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको थियो । यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा) रुपमा एक करोड ५० लाख रुपैयाँ नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा ५० करोड रुपैयाँ नोक्सान रहेको छ । एपली ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा ७० करोड रुपैयाँभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७