‘माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध’


११ असार २०७८, शुक्रबार
prachanda

काठमाडौं, ११ असार । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन् ।

रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौंडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौंडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गरेका छन् ।

देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गरेका थिए ।

२०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गरेका छन् । विधिसम्मत अधिवेशन पनि नगर्ने तथा अनिश्चित कालसम्म अध्यक्ष बनिरहन खोज्ने प्रचण्डको महत्वाकांक्षामा निर्वाचन आयोगले पार्टी र अध्यक्षको मान्यता दिइरहेर दलभित्रको लोकतन्त्रलाई पनि अवैधानिक बनाएको आरोप लगाएका छन् ।

मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । गत ७ असारमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरु राखेर ८ असारमा नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली काँग्रेस, नेकपा एमाले (माधव समूह), माओवादी केन्द्रलगायतका दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रेको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेका बीच दोहोरो भीडन्त भएको थियो । दोहोरो ढुङ्गा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुवैतिरबाट निशाना बनेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७