नेपालकै पहिलो जेटबोट सञ्चालनमा


११ असार २०७८, शुक्रबार
jetbot

सर्लाही, ११ असार । सर्लाहीको वागमती नगरपालिका–४ मा निर्माण भएको देशकै सबैभन्दा ठूलो मानवनिर्मित तालमा नेपालकै पहिलो जेटबोट सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रम आयोजना गरी वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाले सो जेटबोट चलाउने पाइलटलाई साँचो हस्तान्तरण गरे ।

पूर्व पश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिणतर्फ वागमती–४ मा निर्माण भएको भरत तालमा नेपालकै पहिलो ३५ सिट क्षमता भएको जेटबोट सञ्चालन गरिएको नगर प्रमुख थापाले जानकारी दिए । सो मानवनिर्मित तालमा विसं २०७८ वैशाख १ गतेदेखि वागमती इन्टरटेनमेन्ट प्रालिले दुई वटा मोटरबोट सञ्चालन गरेको थियो भने बिहीबारदेखि जेटबोट कुदाइएको नगर प्रमुख थापाले जानकारी दिए ।

सो ताल प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक हजारौं आन्तरिक पर्यटक आउने गरेको पाइएको छ । नगर प्रमुख थापाको विशेष पहलमा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको सो तालकोे कूल गहिराइ ३५ फिट रहेको छ । तालको कूल लागत रु ६० करोड निर्धारण गरिएको छ भने हालसम्म रु ३७ करोड लगानी भइसकेको उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन् ।

गर्मी महिनामा मोटरबोट चढेर गर्मी भगाउन र मनोरञ्जन लिन तथा बिदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटक उक्त तालमा आउने गरेका छन् । लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेवातालभन्दा बढी मनोरञ्जन हुने पर्यटकको भनाइ छ ।

यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ । उक्त हाँसले तालमा पौडी खेलेको दृष्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केही समयपछि माछासमेत पालन गरिने नगरपालिकाले जनाएको छ । भरत ताल निर्माणको सम्पूर्ण काम करिब दुई महिनाभित्रमा सकिने नगर प्रमुख थापाले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७