कांग्रेसले प्रचण्ड पथ अँगाल्यो : प्रधानमन्त्री

‘विपक्षी गठबन्धनको हातमा सत्ता पुगे चुनाव हुँदैन’


१४ असार २०७८, सोमबार
kp oli 2 scaled

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड पथको मार्गदर्शन सिद्धान्त अँगालेको आरोप लगाएका छन् । उनले प्रचण्डपथको चर्चा सर्वोच्च अदालतमा पनि भएको टिप्पणी गरेका छन् ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आज (सोमबार) बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

उनले अगाडि भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरे जस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नु पर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मैं बन्छु अर्को ठाउँमा भने ।’

यो अभिव्यक्ति हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति भएको ओलीको भनाइ छ । हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति दिंदा पनि न्यायाधीशहरुले रोक्न नसकेको उनले बताए ।

ओलीले भने, ‘आश्चर्य लाग्छ सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिंदा रोक्ने काम गरेको पाइएन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्नो वक्तव्य सम्हालेर राख्नुस् भनेर के न्यायमूर्तिहरुले त्यो सुझाव पनि राख्न सक्नु हुन्न र ?’
‘विपक्षी गठबन्धनको हातमा सत्ता पुगे चुनाव हुँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनका हातमा सत्ता पुगे उनीहरुले कहिल्यै चुनाव नगर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुले आफूलाई संविधान च्यातेर उल्टो स्याल हुइँया मच्चाएको आरोप लगाए । ‘संविधान च्यात्ने दिशामा उहाँहरु जानु हुन्छ ,उल्टो हल्ला गर्नुहुन्छ । स्याल हुया मच्चाउनु हुन्छ केपी ओलीले संविधान च्यात्यो भनेर’, ओलीले भने, ‘जनताका बीचमा जाऊ भन्दा संविधान च्यातिन्छ ? चुनावै हुन नदिने परिस्थिति । कथम् उहाँका हातमा भोली पुगेपनि चुनाव हुनेवाला छैन । कस्ता तत्वहरु छन् ?’

एमालेको बरिष्ठ नेता भन्दै एमाले ध्वस्त पार्ने, अनुशासनहिन अराजकताको नमुना माधव नेपाल रहेको आरोप पनि उनले लगाए । ‘दुनियाँका कुनै पनि राजनीतिक इतिहासमा माधव नेपाल जति अराजक र इमान नभएको मान्छे कोही छैन । मदनको विरोध गर्ने, विचारको विरोध गर्ने तर आज त यसो हेर्छु मदन भण्डारीका नाममा वक्तव्य आइरहेको छ’, ओलीको भनाइ छ । ओलीले मदन भण्डारीको विचारलाई लिएकोमा आफूलाई खुशी लागेको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७