भैरहवाको सुन्दर ग्लास हाउसमा आगलागी, करोडौंको क्षति


२७ असार २०७८, आईतवार
aagolagi z4CEDnsmzD

बुटवल, २७ असार । रुपन्देहीको एक ग्लास हाउसमा गए राति आगलागी हुँदा करोडौंको क्षति भएको छ । सिद्धार्थनगर नगरपालिका–८ भैरहवाका नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा राति सवा नौ बजे लागेको आगो रातभर निभ्न सकेको थिएन ।

अहिले विहान पनि दुई वटा दमकल घटनास्थलमै रहेको र आगलागी नियन्त्रणमा आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार ग्लास हाउसको निकै महङ्गो मुल्य पर्ने फाइवरलगायत सबै जलेर नष्ट भएको छ । रातभर आगो नियन्त्रणका लागि रुपन्देही र छिमेकी जिल्लाको समेत जनशक्ति र स्रोत साधन प्रयोग गरियो ।

२० भन्दा बढी दमकलको प्रयोग भएको छ भने नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटेपछि विहान ५ बजेतिर आगो नियन्त्रकमा आएको हो । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा विमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिकालगायतका दमकल परिचालन भएका थिए ।

आगलागीबाट पसलका सबै सामग्रीका र दुई तल्ले घर ध्वस्त भएको छ । क्लिपबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको जनाइएको छ । घरको माथिल्लो तल्लामा उक्त पसल धनीको परिवार बस्दै आएकोमा उनीहरुलाई सुरक्षाकर्मीहरुले सकुशल उद्धार गरेका थिए । घर पसलमा रहेको नगद, मोटरसाइकललगायत गरी ५ करोड बढीको क्षति भएको घरधनी सुन्दर अग्रहरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७