बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु


६ श्रावण २०७८, बुधबार
Melamchi bazaar flood

सिन्धुपाल्चोक, ६ साउन । सिन्धुपाल्चोकको हेलम्बुका बाढी प्रभावितलाई अस्थायी आवास निर्माण शुरु भएको छ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीले विपदग्रस्त क्षेत्र हेलम्बुका प्रभावित १७ परिवारको अस्थायी आवास निमार्णको जिम्मा लिएको छ ।

हेलम्बु गाउँपालिकाको हल्दे, तिम्बुलगायतका बाढी प्रभावितको घर बनाउने जिम्मा लिएको इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए । मङ्गलबार हेलम्बु गाउँपालिका र इन्द्रेणीबीच घर बनाउने सम्झौता भएको हो ।

तीन लाख ६६ हजार बराबरको अनुमानित लागतमा निर्माण हुने घरमा दुई कोठा, भान्छा, शौचालय र धारा हुनेछन् । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कँडेलले ६२ लाख हस्तान्तण गरेर यथाशीघ्र घर निमार्णको काम अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष शेर्पाले हेलम्बुलाई सहयोग गरेकामा धन्यवाद दिँदै दशैँसम्ममा आफ्नै घरमा प्रभावित जनतालाई सार्ने प्रतिबद्धता जनाए । उनले हेल्भेटास नेपालबाट ४० र केयर नेपालबाट २० वटा निमार्णको शुरु भइसकेको जानकारी दिए । गाउँपालिकाले बनाएको मापदण्ड र प्राविधिक लागतअनुसार एकै किसिमको घर निर्माण गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ ।

कूल १०७ घर परिवार विस्थापित रहेको तथ्याङ्क रहे पनि करिब ९० घर पूर्णरूपमा क्षति भएको अध्यक्ष शेर्पाले बताए । उनले अहिले अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको र सरकारले दिने भनेको पाँच लाख आउने बित्तिकै स्थायी आवासका निम्ति काम थाल्ने समेत जानकारी दिए । मेलम्ची नगरपालिकामा पनि केयर नेपाललगायतले आवास निर्माण गर्ने बताइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७