‘हेड काउन्ट’ रोक्न माग गर्दै जसपाको महन्थ ठाकुर पक्ष सर्वोच्चमा

बिहीबारको आदेश बदर गरिदिन माग


८ श्रावण २०७८, शुक्रबार
mahantha thakur

काठमाडौं, ८ साउन । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ । निर्वाचन आयोगबाट पार्टीको आधिकारिकतबारे निर्णय नहुँदै महन्थ ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको हो । जसपा अध्यक्ष महन्थ ठाकुरका तर्फबाट महोत्तरीका प्रदिपकुमार पाठकले रिट दायर गरेका हुन् ।

रिटमा निर्वाचन आयोगले जसपा दर्ता हुँदा बखतका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरेर पार्टीको आधिकारिकता दिने भन्दै उपस्थितिका लागि दिएको आदेश बदर गरिदिन माग गरिएको छ । आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउने छ ।

‘दुई दलहरू एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दर्ता गर्ने सम्बन्धमा आयोगमा मिति २०७७।३।१२ गतेका दिन प्रस्तावित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सनाखत भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल २०७७ । ३ । २४ मा दर्ता भएको देखिँदा प्रस्तुत दलको आधिकारिकता सम्बन्धी विवाद पूर्ण गर्ने प्रयोजनका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयम् उपस्थित भई सनाखत गर्न देखिएकाले सनाखत गर्नका लागि दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ का उपदफा (६) बमोजिम मिति २०७४।४।११ गते सोमबारका दिन दिनको ११ः०० बजे आ–आफ्नो परिचय खुल्ने नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रको सक्कल प्रति लिई स्वयम् यस आयोगमा उपस्थित हुनका लागि दुवै पक्षलाई जानकारी गराउने’, निर्वाचन आयोगको बिहीबारको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७