भैंसीलाई घाँस हाल्न गोठमा जाँदै गर्दा महिलाको हत्या


१२ श्रावण २०७८, मंगलवार

जाजरकोट, १२ साउन । रुकुम पश्चिमको छहरेमा एक महिलाको विभत्स हत्या भएको छ । त्रिवेणी गाउँपालिका–४ छहरेस्थित अन्दाजी २६ वर्षीया मनकला खत्री खड्काको गए राति हत्या भएको हो । भैंसीलाई घाँस हाल्न गोठतिर जाँदै गर्दा धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ ।

घरभन्दा करिब २ सय मिटर टाढा रहेको गोठका भैंसीलाई घाँस हाल्न सोमबार बेलुका सात बजेतिर गएकी उनी लामो समय नफर्केपछि परिवारमा उनको खोजी गरिएको थियो । खोज्ने क्रममा राति १० बजेतिर उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । प्रहरी राति १२ बजे घटनास्थल पुगेको थियो । उनको शव गोठ भन्दा केही तल कान च्यातिएको, नाकमा धारिलो हतियार प्रयोग भएको र मृतक रगताम्य अवस्थामा फेला परेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

हत्याराले उनीले लगाएका गरगहना पनि लुटेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतकका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा छन् । प्रहरीले घटनास्थल शिल गरी अनुसन्धान अगाडि बढाएको छ । हत्यामा कसको संलग्नता हो अहिलेसम्म केही खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार अहिले घटनाबारे केही स्थानीयलाई सोधपुछ गर्ने काम चलिरहेको छ ।

शव रातभर प्रहरीको निगरानीमा रहेको र अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर मगाइएको डिएसपी श्रेष्ठले बताए । कुकुर पुगेपछि घटनाबारे थप अनुसन्धान अघि बढाइने उनको भनाइ छ । प्रारम्भिक चरणमा घटनास्थल वरपर सोधपुछको काम भइरहेको डिएसपी श्रेष्ठले बताए । मृतकका सात वर्षीय एक छोरा र सासुआमा घरमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७