माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिंदैन : ईश्वर पोखरेल


१५ श्रावण २०७८, शुक्रबार
ishwor pokhrel 1 scaled

काठमाडौं, १४ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्तावमा असहमति जनाएका छन् ।

शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले पार्टीको विधि र विधानभन्दा फरक ढङ्गले आएको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका हुन् । कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा आफूहरूको जोड रहेको उनको भनाइ छ ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदाखेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु पर्‍यो नि, सबैले’, उनले भने ।

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले तीबारे आफूले बुझ्न नसकेको पनि बताएका छन् । उनले पार्टीभित्रको विग्रहकारी स्थिति अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलले नेपाल पक्षसँग आग्रह गरे । पोखरेलले पार्टी एकताको विषयलाई टुङ्ग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिए ।

यस्तै एमालेले शनिबार (भोलि) पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुङ्ग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७