माधव पक्षको बैठक शुरु, सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित


२१ श्रावण २०७८, बिहीबार
Yogesh Surendra

काठमाडौं, २१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित भएका छन् ।

आज (बिहीबार) दिउँसो बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा राखिएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा दुवै नेता अनुपस्थित भएका हुन् । पाण्डे एमाले विवाद समाधान गर्न जेठ २ मा गठन गरिएको कार्यदलका सदस्य समेत हुन् । भट्टराईले केही समयअघि नै नेता नेपालको साथ छोडिसकेका छन् ।

तर एमालेले २०७७ फागुन २८ गतेको निर्णयानुसार चैत ७ गते गठन गरेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएपछि भट्टराई र पाण्डेसहितका नेताहरुको पार्टीमा रहने भूमिकाबारे अझै अन्योल छ । नेपाल समूह निकट मानिने उनीहरु पछिल्लो समय असमञजस जस्तो देखिएका बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ ।

माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो । नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् ।

भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् । आजको बैठकमा नेपाल पक्षले एमालेकै रुपमा समानान्तर गतिविधिलाई तीव्र बनाउने योजना अघि सार्दैछ । बैठकले तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे कुनै निर्णय लिन सक्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७