मेसीले बार्सिलोना छाड्ने


२२ श्रावण २०७८, शुक्रबार
leo messi1619144961

काठमाडौं, २२ साउन । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो ।

क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको विज्ञप्तिमा जनाइएको छ । ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन । त्यसैले मेसी बार्सिलोनामा रहने छैनन् ।’
खेलाडी र क्लबको इच्छा पूरा नभएकोमा दुवै पक्षलाई दुःखी भएको पनि बार्सिलोनाले जनाएको छ । क्लबका लागि पुर्‍याएको योगदानका लागि मेसीलाई बार्सिलोनाले धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ ।

यसै महिनाको सुरुमा मेसी कुनै पनि अनुबन्धबाट स्वतन्त्र भएका थिए । बार्सिलोनासँग यसअघिको अनुबन्ध टुंगिएपछि अर्जेन्टिनी खेलाडी ‘फ्री ट्रान्सफर’ का लागि उपलब्ध भएका थिए । यसअघि उनी अन्यत्र जानसक्ने सम्भावना रहेको बताइए पनि पछि उनले बार्सिलोनामै रहने जनाएका थिए । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि मेसीमा रुचि देखाएको थियो । बार्सिलोनामा नबस्ने भएपछि मेसी कहाँ जान्छन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेल खेलेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् ।

उनले कीर्तिमान छपल्ट बालोन डी’ अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ । कोपामा अर्जेन्टिनाको जित र त्यसमा मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनी फेरि एकपल्ट बालोन डी’अर उपाधिलाई बलियो प्रत्याशी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७