एमसीसीमा राष्ट्रिय सहमति होस् : सभामुख


२७ श्रावण २०७८, बुधबार
agniprasad sapkota 1536x864 1

काठमाडौं, २७ साउन । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकासँगको एमसीसी सम्झौतामा राष्ट्रिय सहमति गरेर अघि बढ्दा ठिक हुने बताएका छन् ।

सभामुख सापकोटाले बुधबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीबारे बोलेका हुन् । ‘एमसीसीबारे जनमानसमा गहिरो गरी सन्देश गइसकेको छ । जनतालाई स्पष्ट पारेर राष्ट्रिय सहमति गरेर गर्दा नै ठिक हुन्छ’, सभामुख सापकोटाले भने । एमसीसी सम्झौताबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कहिले पारित गर्ने हो भनेर प्रश्न गरेका थिए ।

‘राष्ट्रिय सहमति गर्ने विषय हो । संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्,’ सभामुख सापकोटाले भने, ‘हिजो पूर्व प्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नु भएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ ।’

सभामुख सापकोटाले एमसीसी किन प्रतिनिधिसभामा टेबुल नगरेको भन्ने प्रसङ्गको पनि पत्रकारहरूलाई जवाफ दिएका छन् । ‘के टेबुल गर्ने नगर्ने भन्ने सभामुखको निर्णय अन्तिम हुन्छ, तर असीमित अधिकार भए पनि त्यसको सीमित प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सहमति भइ दिए धेरै आनन्द आउने कुरा हो । त्यो भएन भने प्रतिनिधित्व गर्ने दलहरूबीचमा होस्, होइन भने गठबन्धनमा होस् । त्यसपछि उहाँहरूलाई आफ्ना कुरा भन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७