देशभर वर्षाको सम्भावना, चार प्रदेशमा ठूलो पानी पर्ने


१ भाद्र २०७८, मंगलवार
rain

काठमाडौं, १ भदौं । केहि दिनदेखि सक्रिय मनसुन आज (मंगलबार) पनि कायमै रहेको छ । आज पनि देशभर मनसुनको सम्भावना रहेको मौसमविदले जनाएका छन् । हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमि भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराईभन्दा केही पर दक्षिणतिर रहेको छ । बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पाँच प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार प्रदेश–१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७