बागलुङमा बर्षे आलुले पाएन बजार, किसान चिन्तित


७ भाद्र २०७८, सोमबार
potato
फाइल फोटो

बागलुङ, ७ भदौं । बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो । ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसिखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीत भण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताए । ‘प्रत्येक घरले कम्तीमा ३० मुरी आलु उब्जाउ गर्छन्, यो वर्ष त्रिलोचन सापकोटाले ८० मुरी उत्पादन गर्नुभयो’, उनले भने, ‘आलु उत्पादन राम्रो भए पनि व्यवस्थित शीत भण्डार नहुँदा कुहिन थालेको छ ।’ झण्डै १० टन आलु कुहिएपछि खाडल खनेर गाडिएको छ ।

यस वर्ष भकुण्डेको आलु धेरै कुहिएको छ । त्यहाँका किसानले अन्नसँग आलु सटही गर्छन् भने केहीले आलु बिक्री गरेर अन्न भित्र्याउँछन् । ‘यस वर्ष आलु धेरै नै कुहियो’, किसान यामबहादुर थापाले भने, ‘हाम्रो त मुख्य पेशा नै यै हो, आलु बिग्रिए छाक टर्दैन ।’

वर्षा धेरै भएकाले आलुमा क्षति व्यहोर्नु परेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउँदैनन्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ’, उनले भने, ‘वर्षा धेरै हुँदा पानी तर्काउनुपर्ने हो, किसानलाई सबै ज्ञान दिलाउन सकिएको छैन् ।’ फसल लगाएपछि भण्डारणमा त्रुटि हुँदा पनि आलु कुहिने हुन्छ ।

उनले भने, ‘छायाँ पर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डार गर्दा क्षति हुने सम्भावना कम हुन्छ । अघिल्लो वर्ष डढुवा रोग लागेको आलुको बीउ लगाए कुहिन्छ भन्ने कुराको ख्याल किसानले नगरेकाले जिल्लाभर यस्तै समस्या देखिको छ ।’

आलु बालीमा भएको क्षतिका सम्बन्धमा जैमिनी नगरपालिकाको कृषि शाखाले चासो देखाएको छ । ‘शीत भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राविधिक त्रुटि होलान्’, कृषि प्राविधिक रविन्द्र शर्माले भने, ‘पकेट क्षेत्रमा शीत भण्डार निर्माणका लागि प्रस्ताव गरेका छौँ, स्वीकृत भएमा अर्को वर्ष शीत भण्डार बन्छ ।’ सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा शीत भण्डार निर्माण गर्ने गरी प्रस्ताव तयार भएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७