सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, ब्यारेजको ३५ ढोका खोलियो


१३ भाद्र २०७८, आईतवार
saptakoshi river
फाइल फोटो

सप्तरी, १३ भदौं । सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज (आइतबार) दिउँसो यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७९० क्युसेक प्रति–सेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

यसअघि साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्युसेक प्रति–सेकेण्ड बहाव मापन गरिएको थियो । पछिल्लो मापनले त्यो रेकर्डलाई उछिनेको हो । पूर्वका धेरैजसो भेगमा वर्षा भइरहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । जसका कारण कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आँकलन गरिएको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा उतार–चढाव देखिँदा सुनसरीको श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान गर्न थालेको छ । नदीमा आएको उतार–चढावका कारण यसअघिका हप्तामा कटान भएको त्यो क्षेत्रको कतिपय ठाउँमा फेरि कटान शुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही ठाउँमा कटान गरेको खबर प्राप्त भएको बताए । उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्धार गरी सुरक्षित ठाउँमा सार्ने तयारी भइरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअसहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७