कोशी नदीमा वर्षकै उच्च बहाव, स्थानीय त्रसित


१४ भाद्र २०७८, सोमबार
koshi barrage

सप्तरी, १४ भदौं । चीनको हृवाङहो नदीपछि तीब्र गतिमा बग्ने विश्वकै दोस्रो ठूलो नदी सप्तकोशीको पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेको छ । केही दिनयता लगातार वर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेपछि र कटान हुन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो पटक अपरान्ह ५ बजे मापन गर्दा सप्तकोशीमा २ लाख ७४ हजार ५ क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३७ वटा ढोका खोलिएको छ ।

सप्तकोशीमा पानीको बहाव उच्च भएपछि सप्तरी, सुनसरी र उदयपुरका स्थानीयहरु त्रसित बनेका हुन् । कोशीको बहाव बढदै गएपछि सुनसरीको चतरा, श्रीलंका टापु क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ सिसौली उत्तर लाहुरेको खोजभन्दा २ सय मिटर दक्षिण तीब्र कटान थालेको छ । कटान तीब्र भएकाले धार परिवर्तन गरी कोशी बस्तीमा पस्ने भन्दै बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ का साथै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका नागरिकलाई सजक रहन अनुरोध गरेका छन् ।

उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिले तत्काल ३ सय मिटर कटान क्षेत्रमा तटबन्ध गर्ने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले टापु क्षेत्रका केही स्थानमा नदीले पुनः कटान गरेको बताए ।

भारी वर्षाको सम्भावना रहेको र चतरा क्षेत्रमा कटान भइरहेको जानकारी दिँदै सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले सप्तरीको सप्तकोशी, कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका तथा तिरहुत र तिलाठी कोइलाडी गाउँपालिकाको कोशी किनारका बस्ती तथा होचा स्थानहरुमा कटान हुने तीब्र सम्भावना रहेको बताए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७