बुद्ध एयरद्वारा पोखरा–सिमरा सिधा उडान शुरु


१७ भाद्र २०७८, बिहीबार
buddha airline

पोखरा, १७ भदौं । बुद्ध एयरले गण्डकी प्रदेशको पोखरा र प्रदेश २ को सिमरामा सीधा उडान शुरु गरेको छ । लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश–२ ले विशेष पहल गरेका थिए ।

बुधबारदेखि बुद्ध एयरले पोखरा सिमरा सिधा उडान शुरु गरेको हो । अब प्रत्येक साताको तीन दिन नियमित उडान हुने नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए । बुधबार बुद्ध एयरको उडानमार्फत नाट्टाको टोली पोखराबाट सिमरा आएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलका अनुसार टोलीले सिमरामा विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तक्र्रियासमेत गरेको छ ।

त्यस क्रममा वक्ताहरुले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। यसले दुई प्रदेशबीचको पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वाससमेत व्यक्त गरे ।

बुधबार सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै भएका कार्यक्रमका वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलले भारतीय पर्यटकसहित प्रदेश–२ का पर्यटकलाई अब मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्रा सहज हुने बताए ।

कार्यक्रममा प्रदेश–२ का उद्योग, पर्यटनमन्त्री रामनरेश राय यादवले दुई प्रदेश हवाई उडानमार्फत जोडिनु महत्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैले चासो दिनुपर्ने बताए । प्रदेश–२ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले दुई प्रदेशलाई जोड्नेगरी शुरु भएको उडान अब बन्द हुन नहुनेमा जोड दिए । कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश–२ को गढीमाई क्षेत्रको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको उल्लेख गर्दै अब दुई प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल एकापसमा जोडिनुपर्ने बताए ।

नाट्टा प्रदेश–२ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास हुँदै आएको बताए । उनले आगामी दिनमा यो उडानलाई व्यवस्थित बनाउनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले हवाइ उडानले सिमरा पोखराबीचको १० घण्टाको यात्रालाई आधार घण्टामा छोट्याएको बताए ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाहले निकुञ्जमा धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी पाइए पनि पर्यटकीयरुपमा अपेक्षित उपयोग हुन नसकेको गुनासो गरे । नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले कोरोना प्रभावित पर्यटनलाई पुनःरुत्थान गर्न प्रदेश–प्रदेशबीचका सीधा उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता, होटल क्लाक्र्स रिसोर्टका सञ्चालक सुनिलकुमार खेतानलगायतले पोखरा–सिमरा उडानसँगै दुवै प्रदेशबीचको पर्यटकीय, औद्योगिकलगायतका क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।

टोलीले आज पनि पर्यटनसम्बद्ध सरोकारवाला निकायबीच पर्यटनको पुनःरुत्थानलगायतका विषयमा बारा र पर्साका सरोकारवालासँग छलफल गर्ने र शुक्रबार पोखरा फर्कने कार्यक्रम रहेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक हरिराम अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७