तरकारीको मनपरी मूल्य निर्धारणले किसान र उपभोक्ता मर्कामा


५ आश्विन २०७८, मंगलवार
tarkari bazar
फाइल फोटो

बागलुङ, ५ असोज । बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्छिन् ।
बजारमा अरू जिल्लाबाट आएको तरकारी कम भएको बेला सरिताले राम्रो मूल्य पाउँछिन् । बाहिरी जिल्लाको तरकारी प्रशस्तै आयो भने उनको तरकारीको मोलमोलाइ हुन्छ । उनको मुख्य पेसा नै यही हो । तरकारीबाटै उनी र उनको परिवार पालिएको छ ।

बजारमा तरकारी आएको बेला खुसुक्क फर्ममा पुग्छन् र भन्छन्, ‘अन्त नभन्नु मूल्य राम्रो दिन्छु,’ सरिता भन्छिन्, ‘बजारमा तरकारी प्रशस्तै भए उनीहरुकै पसलमा पुर्‍याउँदा समेत वास्ता गर्दैनन् तर तरकारीको न कुनै तोकेको मूल्य छ न त मूल्य निर्धारण गर्ने निकाय नै ।’
बजारमा तरकारीको मूल्य तोक्ने कुनै निकाय नभएकै कारण मनपरी मूल्य र खुसुक्क मूल्य निर्धारण हुने गरेको उनको गुनासो छ । उपभोक्ता र किसान शर्मा बीचको दूरी नजिक छ तर उपभोक्ताले सिधै सरिताको तरकारी खरिद गर्न सकेका छैनन् भने उनले फलाएको तरकारीले उपभोक्ताले तिरेको मूल्य पाएको छैन ।

विचौलियाका कारण बागलुङ बजारमा तरकारीको मूल्यमा मनपरी चल्छ । यसको मारमा उपभोक्ता र किसान दुवै छन् भन्छिन्, अर्का किसान कोपिल बुढाथोकी । ‘बजारमा हप्तामा एक पटक मासुको मूल्य तोकिन्छ, दूध, खाद्यान्न र अन्य उपभोग्य वस्तुको मूल्य तोकिए बमोजिम हुन्छ,’ बुढाथोकी भन्छिन्, ‘कुश्मामा पहिरो जानुअघि ३० रुपैयाँ किलोको तरकारी पहिरोले बाटो रोक्दा किन ८० पुग्छ? उत्पादन जिल्लामै छ, किसानको बारीमा कुहिएको छ, बजारमा मनोमानी चल्छ ।’

तरकारीको थोक मूल्य र बजार मूल्य निर्धारण नहुने गरेकै कारण उपभोक्ता र किसान मर्कामा परेको बुढाथोकीले गुनासो गरिन् । बजार मूल्यले उपभोक्ता थिचिँदा किसानको उत्पादनले मूल्य नपाएकै कारण किसानको अवस्था नसुध्रिएको किसान नारायणप्रसाद शर्मा बताउँछन् ।

‘हेर्नुस् वर्षौं भयो तरकारी खेती गरेको, बजारको मूल्य हेर्दा मालामाल भयो होला भन्ने लाग्दो हो तर किसानको अवस्था उस्तै छ,’ शर्माले भने, ‘किसानले बीउ मल समेत पुर्‍याउन सक्दैन, किसान र उपभोक्ता दुवै ठग्ने को हो खोज्नु पर्दैन ?’ किसान र उपभोक्ताको गुनासो व्यापक रहे पनि जिल्लामा दैनिक उपभोग्य वस्तुको थोक तथा खुद्रा मूल्य तोक्ने निकाय नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।
‘अहिले हामीले थोक तथा हाटबजार सञ्चालनका लागि परामर्श थालेका छौँ, समूह र सहकारीले यस्तो बजार सञ्चालन गर्ने भए कार्यसमिति तयार हुन्छ, सोही समितिले मूल्य निर्धारण र व्यवस्थापन गर्छ,’ उनले भने । सरकारी निकायले बेला बेलामा बजारको अनुगमन गर्ने गरे पनि किसानको मर्काबारे भने कसैले आवाज नउठाउने किसानको गुनासो छ ।

बागलुङ बजारमा कृषि हाटबजार तथा थोक बजार सञ्चालनका लागि जिल्ला कृषि सहकारी संघले नगरपालिका, कृषि ज्ञान केन्द्र र उद्योग वाणिज्य संघसँगको सहकार्यमा काम थालेको छ । संघका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार तथा थोक बजार व्यवस्थापन समिति गठन भइसकेकाले अब भने किसान र उपभोक्ताका समस्या समाधान हुनेगरी काम अघि बढ्ने भट्टराईले बताए ।

किसानको उत्पादन खरिद गरेर उपभोक्तालाई पुर्‍याउने व्यवसायीको पनि आफ्नै गुनासो छ । डोकोमा बोकेर घरघरमा पुग्नेहरूका कारण किसानको उत्पादनको मूल्य एकनास नहुने व्यवसायी गोपाल सापकोटाले बताए ।

‘यहाँको सरकारले दर्ता गराएर कर असुल्छ हामीसँग तर हामीले कर तिर्ने गरी व्यपार गर्न समेत पाउँदैनौँ’ सापकोटाले भने, ‘हामीले व्यवसाय कर तिर्नका लागि मात्रै गर्ने हो र ?’ तरकारीको बजार र उपभोगलाई व्यवस्थित गर्न सबै सरोकारवालाले ध्यान दिनुपर्ने व्यवसायी तथा किसानको माग छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७