साहस ऊर्जाको ७० करोडको आईपीओ विक्री खुला


६ आश्विन २०७८, बुधबार
IPO

काठमाडौं, ६ असोज । साहस ऊर्जा लिमिटेडले आजदेखि धितोपत्रको प्राररम्भिक सार्वजनिक निष्कसासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गरेको हो ।

७० लाख कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुलाएको हो ।
उक्त आईपीओमा सर्वसाधारणले छिटोमा असोज १० गतेसम्म र उक्त अवधिमा आवश्यक आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोसी गाउँपालिका लगायतका गाउँपालिकाहरूमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

विद्युत् विकास विभागले कम्पनीको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजना (८६ मेगावाट) लाई विद्युत उत्पादनको लागि २०७१-०६-०२ अनुमति दिएको थियो । विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७१-०६-०२ देखि २१०६-०६-०१ सम्म रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १३ करोड ७९ लाख ७ हजार अनुमान गरिएको जनाएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७