चीनमा टिकटक चलाउने बालबालिकालाई तोकियो ४० मिनेटको समय सीमा


६ आश्विन २०७८, बुधबार

काठमाडौं, ६ असोज । चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समय सीमा तोकिएको छ । विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’ को नामबाट उपलब्ध छ । चीनमा सर्वाधिक लोकप्रिय एप डुइनका प्रयोगकर्तामा कम उमेरका किशोर–किशोरी सबैभन्दा बढी छन् ।

बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले अब बिहान ६ बजेदेखि राति १० बजेभित्र केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउने घोषणा गरेको हो । आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका बालबालिकाका लागि यो नियम लागू हुने कम्पनीले जनाएको छ ।

बालबालिकालाई डिजिटल लतबाट जोगाउन यस्तो सीमा तोक्ने आफू नै पहिलो प्लाटफर्म भएको दाबी पनि कम्पनीले गरेको छ । किशोरावस्थाका प्रयोगकर्तालाई सिकाइका लागि गुणस्तरीय सामग्री उपलब्ध गराउनका कडा मेहनत गरिरहेको पनि कम्पनीले जनाएको छ ।
चिनियाँ टिकटक डुइनमा खाता खोल्न न्यूनतम उमेर हद तोकिएको छैन ।

जति कम उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न पाउँछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्न अभिभावकको स्वीकृति लिनुपर्छ । टिकटकमा खाता खोल्न भने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ । चीन सरकारले किशोरकिशोरीलाई प्रविधि प्रयोगमा नियन्त्रण गर्ने कदम चालेपछि डुइनले पनि प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

गत महिनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर–किशोरी तथा बालबालिकाले शुक्रबार र बिदाका दिन एक घण्टा मात्र भिडियो गेम खेल्न पाउने, अन्य दिन नपाउने नियम लगाएको छ । यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीलाई विद्यालयमा फोन प्रयोगमा पनि बन्देज लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७