कांग्रेस अधिवेशनः ओखलढुंगाका आठवटै तहमा संस्थापन खेमाका सभापति


१० आश्विन २०७८, आईतवार
Nepali congress

ओखलढुंगा, १० असोज : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाका आठवटा स्थानीय तहमा निर्वाचन सकिएको छ । आठवटामध्ये तीनवटा तहमा निर्वाचन र पाँचवटा तहमा सहमतिमा नेतृत्व चयन भएको हो । शनिबार तीन तहमा निर्वाचन र तीन तहमा सहमतिमा नेतृत्व चयन भएको थियो ।

आइतबार दुई तहमा लामो रस्साकस्सीपछि सहमतिमा नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ । सुनकोसीमा शनिबारदेखि भएको सहमतिको प्रयास आइतबार टुंगिएको छ ।

त्यस्तै, मानेभञ्ज्याङ गाउँपालिकामा विवादका कारण शनिबार स्थगित अधिवेशन आइतबार सहमतिमा नेतृत्व चयन गरेर सकिएको छ । यससँगै जिल्लाका आठवटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । सबै तहमा नेतृत्व चयन सकिएको जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए ।

सबै तहमा संस्थापन हावी

निर्वाचन र सहमति दुवै प्रक्रियाबाट चयन भएको नेतृत्वमा संस्थापन खेमा हावी भएको छ । आठवटै स्थानीय तहका सभापतिसहितका पदाधिकारी संस्थापन खेमाका छन् । सिद्धिचरण नगरपालिकामा प्रेमराज गुरुङसहित अधिकांश पदाधिकारी संस्थापन खेमाका हुन् । उनका प्रतिद्वन्द्वी निबन्ध श्रेष्ठलाई रामचन्द्र पौडेल(शशांक कोइराला खेमाले समर्थन गरेको थियो । उनलाई युवा नेता रामहरि खतिवडाको समेत समर्थन रहेको बताइन्छ ।

त्यस्तै, चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा, मोलुङमा गोपी कार्की निर्वाचित भएका छन् । खिजीदेम्बामा रामकुमार सुनुवार, लिखुमा कुमारराज सुवेदी, चम्पादेवीमा विष्णु पुलामी सहमतिमा चयन भए ।

सुनकोसीमा विष्णु खड्का, मानेभञ्ज्याङ गाउँपालिकामा देवबहादुर पुलामी सभापतिमा चयन भएका छन् । सहमतिमा चयन भएका पाँच तह र निर्वाचित गरी जिल्लाका सबै आठवटै तहका सभापति संस्थापन पक्षका हुन् । सबैजसो सभापति जिल्ला सभापति प्रदीप सुनुवार निकट हुन् ।

जिल्लामा निर्वाचन सकिएपछि नेता रामहरि खतिवडाले संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको दाबी गरे । उनले भने, ‘प्रदीप सुनुवार र रामहरि मिल्दा के हुन्छ भनेर देखिएको छ ।’ उनी देउवा खेमाका मानिए पनि जिल्लामा भने स्पष्ट भूमिकामा देखिँदैनन् ।

दुई कार्यकाल जिल्ला सभापतिमा निर्वाचित सुनुवारको नेतृत्वमा देउवा खेमाका नेता, कार्यकर्ता यास पटक सबै स्थानीय तहमा निर्वाचित भएका छन् । यसअघि जिल्लामा कोइराला खेमा हावी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७