पुष्पाको हत्या अभियुक्तको बयान : गर्भपतन गर्न नमानेपछि भीरबाट झारिदिएँ


१२ आश्विन २०७८, मंगलवार
pushpa

ताप्लेजुङ, १२, असोज । गर्भपतन गर्न नमानेपछि ताप्लेजुङकी युवती पुष्पा लिम्बुको हत्या गरेको बयान अभियुक्त राम कार्कीले दिएका छन् । हत्या अभियोगमा पक्राउ परेका फुङलिङ नगरपालिका–१० फुरुम्बु गढीडाँडाका रामले पुष्पाको ५/ ६ महिनाको गर्भ रहेको र उनले गर्भपतन गराउन नमानेपछि हत्या गरेको बताएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।

‘पुष्पाले गर्भपतन गराउन नमानेको र विवाह गरौं भन्दा पनि नमानेका कारण हत्या गरेको रामले बताएका छन् । तर यसलाई हामीले प्रमाणले पुष्टि गर्नुपर्छ । मंगलबार पोस्टमार्टम रिपोर्ट आएपछि सत्यतथ्य थप खुल्छ,’ उनले भने । उनीहरुबीच प्रेम सम्बन्ध रहेको र पुष्पा गर्भवती भएपछि खटपट शुरु भएको बुझिएको प्रहरीले बताएको छ । दुई जनाको सम्बन्धबारे परिवार समेत जानकार रहेको पाइएको छ । कार्कीले हत्या गरेको हुनसक्ने भन्दै परिवारले नै किटानी जाहेरी दिएको थियो ।

अभियुक्त राम कार्की ट्याक्टर चालक हुन् । शुक्रबार बिहान तीन बजे बोलाएर उनले युवतीलाई भीरबाट लडाइ दिएको प्रहरीसमक्ष बयान दिएका छन् । तर, पुष्पाको मोबाइल भने उनले फालेको भनिएको ठाउँमा भेटिएको छैन । प्रहरीले रामलाई नै लगेर सोमबार दिनभर मोबाइल खोज्यो । ‘उसले मोबाइल फालिदिएको भनेको छ । तर उसैलाई लगेर खोज्दा पनि फेला पर्न सकेको छैन । मंगलबार पनि खोज्छौं’, डीएसपी राणाले भने ।

घटनास्थलमा मेटासिडको बोतल पनि भेटिएको थियो । मेटासिड खाएको र भीरबाट हामफालेर आत्महत्या गरेको हो जस्तो पार्न कार्कीले सो काम गरेको हुनसक्ने प्रहरीको आशंका छ । फक्ताङलुङ ३ लिङ्खिमकी पुष्पा फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । उनी दिदीसँगै बिहीबारेमा बस्थिन् । राम भने ट्याक्टर चलाउँथे । उनीहरु दुईबीच कुराकानी भएको दिदीलाई पनि जानकारी थियो ।

कार्कीले बोलाएर पुष्पालाई मोटरसाइकलमा सेती चौतारा पुर्‍याएका थिए । विवाह र गर्भपतनकै विषयमा विवाद भएपछि आक्रमण गरेको अभियुक्तको बयान छ । सुरुमा ढुंगाले टाउकोको पछाडि प्रहार गरेको र त्यसपछि भुइँमा ढलेकी पुष्पालाई बिषादी खुवाएर भीरबाट धकेलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । घटनास्थलमा पुष्पाका स्वेटर, चप्पल र बिषादीको बट्टा पनि फेला परेको थियो ।
‘धेरै कुरा पुष्टि हुन र प्रमाण फेला पार्न बाँकी छ । अभियुक्तले स्वीकार गरे पनि घटनाको वास्तविकता प्रमाणबाट पुष्टि गर्नुपर्छ’, डीएसपी राणाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७