काठमाडौं–मेघौली र काठमाडौं–सुनौली पर्यटकीय बस सेवा शुरु


१३ आश्विन २०७८, बुधबार
tourist bus

काठमाडौं, १३ असोज । काठमाडांँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बस सेवा शुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा शुरु गरेको हो ।

प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलो पटक काठमाडौं–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौं’, उनले भने ।

यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौं–भैरहवा–सुनौली समेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौं– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् ।

काठमाडौंदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौंदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो । राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट पर्यटक लिएर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७