जसपा प्रदेश–२ का अध्यक्ष यादवले दिए राजीनामा


२४ आश्विन २०७८, आईतवार
bijay yadav Ak9mRBYpcS

जनकपुरधाम, २४ असोज । प्रदेश–२ को सत्तारुढ दल जनता समाजवादी पार्टी प्रदेश समिति आइतबार पुनर्गठन हुँदैछ । पूर्व संघीय समाजवादी फोरम नेपाल र पूर्व राष्ट्रिय जनता पार्टी नेपालबीच भएको एकीकरण अन्तर्गत समायोजन प्रक्रियालाई पूर्णता दिने गरी जसपाको कमिटी पुनर्गठन गर्न लागिएको हो ।

कमिटी पुनर्गठनका लागि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमा छन् । पार्टी पुनर्गठनको लागि जसपा प्रदेश–२ का मधेश कमिटी अध्यक्ष विजय यादवले राजीनामा दिएका छन् । उनले पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत आइतबार जनकपुरमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

प्रदेश कमिटी अध्यक्षको पदबाट राजीनामा दिएका यादव प्रदेश–२ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत छन् । उनी जसपाका केन्द्रीय कार्यकारिणी सदस्य रहेकाले अध्यक्ष पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । यादव पूर्व फोरमकै प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्ष बनेका थिए । उनले जसपाको प्रदेश कमिटीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यस्तै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै प्रदेश कमिटीका मुख्य सचिव शम्भु झाले पदसहित पार्टीबाट समेत राजीनामा दिएका छन् । पूर्व राजपाबाट आएकाहरुलाई समायोजन गर्दै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आज साँझसम्म प्रदेश कमिटीको घोषणा गर्ने बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७