अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का


६ कार्तिक २०७८, शनिबार
narayan khadka 850

मोरङ, ५ कात्तिक । परराष्ट्रमन्त्री नारायण खडकाले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । आज (शनिबार) विराटनगरमा पत्रकारहरुसँको कुराकानीमा उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्बाट पास हुने बताएका हुन् । उनले साझा सहमतिका लागि प्रयत्न गरिरहेको बताए ।

केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताउँदै कुनै विवाद गर्न आवश्यक नरहेको बताएका थिए । उनले मुलुकमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताए । ‘सत्तारुढ दलबीचको सहमतिमा मात्रै अर्ली इलेक्सनमा जाने र नजाने कुरो हुन्छ’, मन्त्री खडकाले भने, ‘अर्ली इलेक्सनको परिस्थिति अहिले निर्माण भइसकेको छैन तर राजनीति भनेको सम्भावनाको खेल भएकाले सबैको सहमति भयो चैत-वैशाखमा अर्ली इलेक्सन हुन सक्छ ।’

प्रदेश सरकारको नेतृत्वको बारेमा अझै सहमति हुन बाँकी रहेको उनले बताए । ‘संघीय सरकारको पूर्ण कार्यकाल पूरा गर्नका लागि शक्ति सन्तुलन मिलाउँदा कही लिनुपर्ने र कही छोड्नु पर्ने अवस्था छ’, उनले भने, ‘त्यसैले सत्तारुढ दलबीच चाँडै प्याकेजमा सहमति भएपछि मात्रै कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने बारे अन्तिम टुंगो लाग्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जानुभन्दा अघि नै सत्तारुढ दलबीच प्याकेजमा सहमति गरेर प्रदेश सरकारको नेतृत्वको अन्तिम टुंगो लगाउने मन्त्री खडकाको भनाइ थियो । उनले प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले गर्ने सम्भावना कायमै रहेको बताए ।

मन्त्री खडकाले केही जिल्लाहरुमा अझै वडा अधिवेशन भइनसकेकोले कांग्रेसको महाधिवेशन मंसिरमा सम्भव नहुने बताए । ‘ केही जिल्लाहरुमा अहिले पनि वडा अधिवेशन हुन नसकेको र केही साथीहरु अहिले पनि अनशनमा हुनुभएकाले सबै समस्या समाधान भएपछि मात्रै महाधिवेशन हुन्छ, ’ उनले भने, ‘त्यसैले मंसिरमा महाधिवेशन हुने सम्भावना छैन । पार्टी महाधिवेशनको अर्को मिति माघको पहिलो सातासम्म पुग्ने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७