नुवाकोट लिखुमा एमालेको महिला अध्यक्ष


११ कार्तिक २०७८, बिहीबार
durga uml pre likhu 28ompPagKI

नुवाकोट, ११ कात्तिक । नुवाकोटको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ । मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्षमा चार जना प्रत्याशी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा भएको बेला केपी ओली समूह सक्रिय थिइन् । गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलन मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो। नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।

पुडासैनी विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय थिइन् । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजदूत महेन्द्रबहादुर पाण्डेको गाउँ हो । तर, गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजय भएको थियो । उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।

नुवाकोटमा दुई नगरपालिका र दश वटा गाउँपालिका छन् । तर, चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ । अन्यमा तिहारअघि नै अधिवेशन सक्ने एमालेले जनाएको छ । नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरे पनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।

मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा शोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७