रविन्द्र मिश्रको दस्ताबेज पारित, पाण्डेको कार्यकारी अधिकार खोसियो


११ कार्तिक २०७८, बिहीबार
RabindraMishra MilanPandey DBqCDAnLQn

काठमाडौं, ११ कात्तिक । विवेकशील साझा पार्टीले संघीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारेको दस्ताबेजलाई पारित गरेको छ ।

आज (बिहीबार) बसेको केन्द्रीय समिति बैठकले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई बहुमतले पारित गरेको हो । बैठकमा केन्द्रीय समितिका १२४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

अध्यक्ष रवीन्द्र मिश्रले अहिलेको राज्य संरचनालाई परिवर्तन गर्ने भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ सार्वजनिक गरेका थिए । अब पार्टीले उनकै सिद्धान्तलाई अङ्गीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको निष्कर्ष निकाल्दै पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विधान पनि संशोधन गरेको छ ।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको प्रवक्ता पाठकले बताए । बैठकमा संयोजक मिलन पाण्डे समूहको उपस्थिति थिएन । अध्यक्षले विचार परिवर्तन गरेको भन्दै पाण्डेको समूह अध्यक्षसँग असन्तुष्ट भने अन्य दलमा प्रवेशको तयारीमा रहेको चर्चा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७