फेरि सर्‍यो कांग्रेस महाधिवेशन : नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति


१२ कार्तिक २०७८, शुक्रबार
congress

काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति फेरि सारिएको छ । यसअघि केन्द्रीय समितिले मंसिर ९ देखि १३ का लागि तोकेको महाधिवेशन कार्यतालिका बिहीबार केन्द्रीय निर्वाचन समितिले २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्नेगरी सारेको हो ।

विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेसले साढे पाँच वर्षभन्दा बढी समय गुज्रिसक्दा पनि गर्न सकेको छैन । यसअघि आधा दर्जन पटकजति महाधिवेशन मिति संशोधन भइसकेको छ । पछिल्लो पटक कांग्रेस पदाधिकारी बैठकले संशोधित कार्यतालिका ल्याउन निर्वाचन समितिलाई जिम्मा दिएको थियो ।

निर्वाचन समितिको विज्ञप्तिमा अब मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने उल्लेख छ । तर, केन्द्रीय नेतृत्व चयन प्रक्रिया भने मंसिर २१ बाटै सुरु हुने विज्ञप्तिमा जनाइएको छ ।

रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद सुल्झन नसकेको अवस्थामा संशोधन गरिएको महाधिवेशन कार्यतालिका अनुसार सात वटै प्रदेशको अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । रसुवा र रौतहटबाहेक अन्य जिल्लाको अधिवेशन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले पालिका अधिवेशन सकेका ४६ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन मंसिर ३ का लागि तोकेको छ । त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र भएका जिल्ला र क्षेत्रको अधिवेशन मंसिर ६ र जिल्ला अधिवेशन १० गते हुनेछ ।

सोलुखुम्बु, दार्चुला र म्याग्दीको प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर १ गते तोकिएको छ । जुम्ला जिल्ला अधिवेशन पनि सोही दिन हुनेछ। अहिलेसम्म कुनै तहको पनि अधिवेशन सुरु नभएको प्रदेश २ को रौतहटबाहेकका सातसहित १२ जिल्लाको वडा अधिवेशन कात्तिक २७ गते तोकिएको छ ।

कात्तिक ३० गते पालिका तहको अधिवेशन हुनेछ । मंसिर ३ गते प्रदेशसभा क्षेत्र, ६ गते प्रतिनिधिसभा क्षेत्र र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तोकिएको छ । मंसिर १० गते जिल्ला अधिवेशन गर्न भनिएको छ । योसँगै मंसिर ३, ६ र १० गते ५८ जिल्लामा एकैसाथ प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन हुनेछ ।

सहमहामन्त्री थप्ने रणनीति

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन् । महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।

दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ ।

सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ । यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणासहित तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कमजोर हुने बुझाइमा देउवा र पौडेल रहेको एक नेताले बताए ।

सहमहामन्त्रीका आकांक्षी नेताहरूको व्यवस्थापन गर्न नसके निधि, सिटौलासहितका समूहबाट महामन्त्रीको प्रत्यासी बन्नसक्ने बुझाइ देउवा र पौडेलको छ । यस्तो हुन नदिन सहमहामन्त्रीको संख्या बढाउने पक्षमा देउवा र पौडेल रहेका छन् ।

देउवा सहमहामन्त्रीको पद बढाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मासहितका नेतालाई आफ्नै समूहमा समेट्ने पक्षमा छन् । शर्मासहितका संस्थापन पक्षका अन्य नेतालाई समेट्न नसक्दा उनीहरू निधि समूहमा जानसक्ने बुझाइमा देउवा रहेको निकट स्रोतको दाबी छ ।

कम्तीमा तीन सहमहामन्त्री थप हुँदा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई महामन्त्री र सहमहामन्त्रीमा राखेर टिम निर्माण गर्न सकिने देउवासहित उनी निकट नेताहरूको बुझाइ छ । यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका निधि थप कमजोर हुने उनीहरूको विश्लेषण छ । संस्थापन पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

त्यस्तै, संस्थापन इतर समूहबाट आधा दर्जन नेताले सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका छन् । तर, संस्थापन इतर पक्षबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला एकअर्कालाई मान्न तयार नहुने र अन्तिममा यो समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने विश्लेषणमा नेता पौडेल छन् ।

१३औं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेपछि सभापति हुन नसकेका पौडेल यसपटक उनलाई साथ दिएका नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा छन् ।

त्यतिबेला सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगन थापा अहिले आफ्नो पक्षमा आएको बुझाइमा पौडेल छन् । सहमहामन्त्री पद थपेर सिटौलालाई साथ दिइरहेका प्रदीप पौडेलसहितलाई आफ्नो समूहमा समेट्ने रणनीतिमा नेता पौडेल छन् ।

महामन्त्रीको प्रत्यासी बन्ने घोषणा गरेका प्रदीप पौडेललाई आफ्नो समूहमा ल्याएर सहमहामन्त्रीमा मनाउने पक्षमा नेता पौडेल छन् । सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका प्रकाशमान र शेखरलाई उपसभापतिमा मनाउने पौडेलको तयारी छ ।

मीनेन्द्र रिजाललाई महामन्त्रीमा अघि सार्ने पौडेलको चाहना छ । थापालाई पनि महामन्त्री बनाउन पौडेलमाथि दबाब परेको जानकारी दिँदै स्रोतले भन्यो, ‘अन्य सिनियर (वरिष्ठ) नेताको व्यवस्थापनलाई पनि ध्यानमा राखेर थापालाई सहमहामन्त्री वा महामन्त्रीमा समेटेर टिम बनाउनु पर्छ भन्ने छ ।’

अहिलेसम्म संस्थापन इतर पक्षबाटै सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका शशांक, प्रकाशमान, शेखरसहितका नेताले आफ्नो दाबी छाडेका छैनन् । उनीहरू पनि उपसभापति, संसदीय दलको नेतासहित आगामी प्रधानमन्त्रीकारूपमा प्रस्ताव गरेर एकअर्कालाई मनाउने रणनीतिमा छन् ।

कांग्रेसमा हाल सभापति, दुई-दुई उपसभापति र महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विधानको व्यवस्था भए पनि आठ सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा चुनिन्छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७